समाचार

भटाभट जागिर छाेडदै प्रहरी ,१० महिनामा साढे ३ हजारले दिए राजीनामा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने विषयलाई लिएर विवादमा तानिएका तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले २०७४ असोज २१ मा राजीनामा दिए । आफू आईजीपीको प्रमुख दाबेदार हुँदाहुँदै अन्याय गरी अरूलाई नै आईजीपी बनाइएको जिकिर सहित उनले राजीनामा दिएका थिए ।

प्रकाश अर्याल आईजीपी बनेपछि प्रहरी सेवा छाडेका सिलवाल तत्कालीन नेकपा एमालेमा प्रवेश गरे । हाल उनी ललितपुर क्षेत्र नम्बर १ का सांसद् हुन् ।२०७४ सालमै राजीनामा दिनेमा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) शिला कंशाकार (कार्की) पनि छन् । प्राविधिक तर्फकी कंशकारले पनि प्रहरी सेवाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन् ।

सोही वर्ष अर्का डीआईजी रमेश खरेलले पनि राजीनामा दिए । आईजीपी बन्ने दौडमा रहेका खरेलले आफूले मौका नपाउने बुझेपछि राजीनामा दिएका थिए ।
ठूला पदमा पुगेर राजीनामा गर्ने यी प्रहरी अधिकारीहरू त उदाहरण मात्र हुन् । पछिल्लो समय सेवाबाट राजीनामा दिने प्रहरीको संख्या निकै बढेको छ ।

प्रहरीको जागिर छाड्ने बढ्दै !

जनताको जिउधनको सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीमा पछिल्लो समयमा राजीनामा दिनेको संख्या निकै बढेको प्रहरी प्रधान कार्यलयको तथ्याङ्कले देखाउँछ ।२०७४ सालमा २.४५ प्रतिशत प्रहरीले राजीनामा दिएकोमा २०७५ आइपुग्दा त्यो संख्या ४.८३ प्रतिशत पुगेको छ । अर्थात् ०७४ मा भन्दा पछिल्लो वर्ष झण्डै दोब्बरले राजीनामा दिएका छन् ।

२०७४ सालमा ३ जना डीआईजी, २ जना एसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ६३ जना सई, २०२ जना असई, १२ सय ५६ जना हवल्दार, २ सय ११ जना जवान र १८ जना कार्यालय सहयोगी गरी १ हजार ७ सय ८१ जनाले राजीनामा दिए ।०७५ सालमा ७ जना डीएसपी, १५ जना इन्स्पेक्टर, १ सय १३ जना सई, ३ सय ६६ जना असई, २ हजार १ सय ३६ जना हवल्दार, ९ सय २५ जना जवान र १ सय १ जना कार्यालय सहयोगी गरी ३ हजार ६ सय ५६ जनाले राजीनामा दिँदै जागिर छाडे ।

त्यसअघि २०७१ सालमा एकजना एसएसपी सहित १ हजार ७ सय २३ जनाले जागिर छाडे । जसमा ६ जना डीएसपी, २० जना इन्स्पेक्टर, १ सय ११ जना सई, ३ सय ३९ जना असई, ८ सय ४७ जना हवल्दार, ३ सय ६८ जना जवान र ३१ जना प्रहरी कार्यालय सहयोगी गरी १ हजार ७ सय २३ जनाले राजीनामा दिए ।

०७२ सालमा ३ जना डीएसपी, १९ जना इन्स्पेक्टर, १ सय ३ जना सई, २ सय ८६ जना असई, ४ सय ७० जना हवल्दार, ३ सय २१ प्रहरी जवान र ४२ जना कार्यालय सहयोगी गरी १ हजार २ सय ५२ जनाले राजीनामा दिए ।

०७३ सालमा एकजना एसएसपी, एक जना डीएसपी, ५ जना इन्स्पेक्टर, ८४ जना सई, ३ सय ४ जना असई, ५ सय ३५ जना हवल्दार, १ सय ३५ जना जवान र ३५ जना कार्यालय सहयोगी गरी ११ सय ६० जनाले राजीनामा दिए । यसरी ०७१ देखि २०७५ सम्म आइपुग्दा झण्डै १० हजार जनाले प्रहरीको सेवा त्यागेको देखिन्छ ।

परिवार चलाउनै मुस्किल

पहिलो त जागिरबाट आउने तलबले घरपरिवार खर्च चलाउन मुस्किल पर्नु नै हो ।दिनानुदिन बढ्दो महंगी र बढ्दा आवश्यकताले गर्दा सेवाबाट आउने तलबले घर खर्च चलाउन नपुग्ने कारणले जागिर छोड्ने संख्यामा वृद्धि भएको प्रहरीका एक उच्च अधिकारीले बताउँछन् ।

उनले भने, ‘प्रहरीको सेवाबाट घर खर्च चलाउन सकिँदैन । यस्तो महंगी छ यसले गर्दा तलब त छोरा र छोरीको विद्यालय खर्चमै सकिन्छ, अरू कुरा कसरी चलाउनु ?’यसरी ठूलो संख्यामा प्रहरीहरूले जागिर छाड्नुको अर्को कारण राजनीतिकरण पनि भएको उनको भनाइ छ ।

Related Articles

Close