समाचार

चाउचाउ : छिटो-मीठो खाजा कि मन्द विष ?

एक सेकेन्डमा औसत ५० प्याकेट चाउचाउ खपत गर्छ, नेपाली समाजले । यस हिसाबले एक दिनमा लगभग ४० लाख प्याकेट चाउचाउ खान्छौं ।

‘जहाँपनि, जहिलेपनि’ भनेझै दूरदराजका गाउँपाखादेखि शहरका भान्सासम्म चाउचाउ पाक्ने गर्छ । बालबच्चा फकाउन होस् वा जिब्रको तलतल मेट्न, हामीलाई चाउचाउ चाहिन्छ । झटपट किन्यो, खायो । स्वादिलो र सजिलो परिकार ।

तर, हाम्रो खाजा/नास्ताको अभिन्न हिस्सा बनेको चाउचाउ कति स्वस्थ्यवर्द्धक खान्की हो ? यो ‘छिटो-मिठो’ तयारी परिकारले कतै नेपाली समाजलाई रोगी त बनाइरहेको छैन ?

पोषणविद्हरु ठोकुवा गर्छन्, ‘चाउचाउ मन्दविष हो । खानै नहुने ।’

युनिसेफको एक रिपोर्टले पनि यही संकेत गर्छ । युनिसेफले झण्डै दुई महिना अघि सार्वजनिक गरेको रिपोर्ट अनुसार चाउचाउजन्य परिकारले बालबच्चा कुपोषित भइरहेको देखाउँछ । अध्ययनले भन्छ, ‘तयारी चाउचाउ र प्याकेटबन्द पेयमा भर पर्ने बालबच्चा तुलनात्मक रुपमा मोटा र होचा समेत छन् ।’

यदि चाउचाउ खपत हुने आँकडा र पोषणविद्हरुले दावी गर्ने कुरालाई आधार मान्ने हो भने, हरेक दिन करिब चालिस लाख नेपाली अखाद्य पदार्थ उपभोग गरिरहेका छन् ।

चाउचाउ अखाद्य नै हो त ?

जो-कोहि सचेत वर्गलाई थाहा छ, चाउचाउ स्वास्थ्यवर्द्धक परिकार होइन । त्यसो भए किन अस्वस्थ्यकर ? के चाउचाउको गुणस्तरबारे हामीकहाँ कुनै अध्ययन/अनुसन्धान भएको छ ?

विश्वमा चाउचाउमा प्रयोग हुने विभिन्न तत्वहरुले जनस्वास्थ्यलाई असर गर्ने गरेको ठहर गरेपनि नेपालमा भने चाउचाउको गुणस्तर र त्यसको असर बारे त्यस्तो विस्तृत अध्ययन भएको पाइदैन । स्वास्थ्य मन्त्रालयका सहसचिव मोहन कृष्ण श्रेष्ठ चाउचाउको असर कति हुन्छ भन्ने विषयमा सरकारी तवरबाट कुनैपनि अध्ययन नभएको जानकारी खुलाउँछन् ।

अब प्रश्न उठ्छ, पोषणविद्हरुले केका आधारमा चाउचाउ ‘खानै नहुने’ भनिरहेका छन् ? उनीहरुले बोल्ने भाषामा कति सत्य र कति अनुमान मिसिएको छ ?

पोषणविद् अरुणा उप्रेतीले जंक फुडको असरको विषयमा आफूहरुले अध्ययन गर्ने नगरेको बताइन् । उनले स्वास्थ्य मन्त्रालयका विभिन्न अध्ययन र निजी क्षेत्रले गरेको अध्ययनको आधारमा आफूहरुले विश्लेषण गर्ने गरेको बताइन् । नेपालमा उत्पादन हुने चाउचाउ लगायत जंक फुड स्वास्थ्यको लागि हानिकारक भएको भन्दै उप्रेतीले चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, पिज्जा, बर्गर, मम, चाउमिन लगायतका बजारमा पाइने तयारी खानामा फाइबर अर्थात् रेसादार पदार्थको कमी हुने भएकोले यसले मुटु र पेट सम्बन्धी समस्या उत्पन्न गराउने बताइन् ।

पोषणविद्हरु विश्वका अन्य ठाउँमा गरिएको अध्ययनलाई नेपालसँग जोडेर त्यसको बारेमा बोल्ने गर्छन् । नेपालमा चाउचाउको कारणले नै कति मानिसलाई कस्तो असर भयो भन्ने सन्दर्भमा कुनै अध्ययन भएको छैन ।

केही समय अघि नेपालमा नेस्ले इन्डियाको उत्पादन म्यागी चाउचाउ माथि प्रतिबन्ध लाग्यो । भारतमा नै बिक्री बितरणको क्रममा त्यसमा हानिकारक लीडको मात्रा धेरै देखिएको एवं अजिनोमोटो (मोनोसोडियम ग्लुटामेट— एमएसजी) अधिकतम रहेको भेटिएको थियो ।

त्यसपछि २०७२ सालदेखि नेपालमा म्यागी चाउचाउलाई अनिश्चित कालको लागि प्रतिबन्ध लगाएको थियो ।

भारतमा लिडको मात्रा अधिकतम रहेको भनेर प्रतिबन्धित म्यागीलाई सुरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको अधिकतम २.५ पीपीएम (पार्ट्स पर मिलियन)को परिधिभित्रै रहेको भन्दै कारबाही गर्नको लागि आनाकानी गरेको थियो । सोही समयमा नेपालका चाउचाउहरुमा पनि तोकिएको मापदण्ड पुगे नपुगेको विषयमा अध्ययन गरेको थियो । त्यतिबेला मायोज चाउचाउले एमएसजी नमिसाइएको भनेर उपभोक्ता झुक्याएको आरोप विभागले लगाएको थियो । त्यतिबेला विभागले म्यागीसहित १६ वटा चाउचाउहरुमाथि नमुना परीक्षण गरेकोमा ९ वटा चाउचाउमा मात्रै मापदण्डअनुसार लिडको मात्रा रहेको पाइएको थियो । त्यसपछि चाउचाउमा मै केन्द्रित भएर विभागले अनुसन्धान नगरेको विभागका अधिकारीहरुले बताउने गरेका छन् ।

चाउचाउमा के हुन्छ ?

चाउचाउ मैदाजन्य उत्पादन हो । विश्वका विभिन्न देशमा भएको अध्ययनलाई आधार मान्दा चाउचाउ बनाउनका लागि प्रयोग गरिने मैदा र अजिनोमोटोको बढी प्रयोगका कारण मानव स्वास्थ्यमा समस्या आउने गरेको छ । नेपालमा पनि चाउचाउमा प्रयोग हुने तत्वहरु र यसको बनाउने प्रक्रियामा धेरै भिन्नता छैन । जसले गर्दा खाजामा धेरै चाउचाउको प्रयोग गर्दा स्वास्थ्यमा अत्यावश्यक रहेको पौष्टिक तत्वहरुको समेत कमी हुने गरेको छ ।

चिकित्सकहरुका अनुसार चाउचाउ, बिस्कुटजस्ता जंकफुडमा शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेड, भिटामिन र सूक्ष्म पौष्टिक तत्व हुँदैनन् । तर, ३ करोड पनि जनसंख्या नरहेको नेपालमा हरेक सेकेण्डमा बिक्री हुने यो ५० प्याकेट चाउचाउले कतिको स्वास्थ्यमा नकारात्मक असर परिरहेको होला ?

युनिसेफको सो अध्ययनमा एशियाली मुलुकहरु फिलिपिन्स मलेसिया र इण्डोनेसियालाई बढी चाउचाउबाट प्रभावित भएको देशको रुपमा उल्लेख गरिएको छ । त्यहाँका अभिभावकहरुको बढी व्यस्तताका कारण बालबालिकाहरुलाई खाजामा यसैको प्रयोग गर्ने गरिएको अध्ययनको निष्कर्ष छ ।

सो अध्ययनबाट त्यहाँका अधिकांश बालबालिकाहरु कुपोषणको शिकार भएको रिपोर्टले औल्याएको छ । युनिसेफको सोही तथ्यांक अनुसार माथि उल्लेख गरिएका तीन राष्ट्रका औषत ४० प्रतिशत पाँच वर्षमुनिका बालबालिकाहरुमा चाउचाउकै कारणले कुपोषण भएको भेटिएको छ ।

यसमा प्रयोग गरिएका विभिन्न मसलाहरुको प्रयोगले यो स्वादिलो हुने गर्छ । समय अभावका कारण धेरै अभिभावकहरुले पेट भर्नकै लागि चाउचाउको प्रयोग गर्नुले त्यसको शिकार बालबालिकाहरु हुने गरेका छन् । यसरी धेरै चाउचाउ खाने ती देशका बच्चाहरुमा पछौटेपना र अन्य शारीरिक कमजोरीहरु हुने गरेको बताइएको छ । युनिसेफको सोही तथ्यांकले ती देशहरुमा हरेक तीन जनामध्ये एक जना कुपोषणको शिकार हुने गरेको बताएका छन् ।

युनिसेफको अध्ययनका अनुसार अहिले इन्डोनेसियामा २४ लाख ४ हजार, फिलिपिन्समा ११ लाख र मलेसियामा २६ लाख पाँच वर्षमुनिका बालबालिकाहरु कुपोषणको शिकार भएका छन् । जुन घरमा आमाबाबु दुवै काममा जानेगरेका छन् । उनीहरुले समय अभावका कारण बच्चाहरुलाई चाउचाउ, आलु तथा यस्ता उत्पादन खाजाको रुपमा प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।

पोषणविद्लाई कति पत्याउने ?

पोषणविद्हरुले भने जस्तो मैदा र अजिनोमोटो सबै अवस्थामा स्वास्थ्यको लागि हानिकारक नै नहुने अर्काे थरीको तर्क छ । खाद्य प्रविधि गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जन अजिनोमोटो प्रयोग भएका सबै सामग्रीहरु अखाद्य नै हुन्छ भन्ने नभएको बताए । ‘यसको प्रयोगको पनि निश्चित मापदण्ड हुन्छ । त्यसैमा आधारित भएको खण्डमा अजिनोमोटोको प्रयोग पनि हानिकारक नहुन सक्छ ।’ महर्जनले भने ।

गुणस्तर मापन गरिँदैन

कुनैपनि तयारी खाद्य पदार्थ विक्री वितरणअघि त्यसको गुणवत्ता मापन गर्नुपर्छ । हामीकहाँ पनि त्यस्तो संयन्त्र छ, जसले आम उपभोक्ताका लागि उत्पादन गरिने खाद्य पदार्थको गुणस्तर मापन गर्ने र नियन्त्रण गर्ने गर्छ । जन-स्वास्थ्य जस्तो अति संवेदनशिल कुरासँग जोडिएको कुरामा सरकारी संयन्त्र चनाखो र जागृत भइरहनुपर्ने हो । तर, हामीकहाँ त्यस्तो अवस्था छैन ।

न उपभोक्तावादी संघ-संगठन जागरुक छन्, न सरकारी संयन्त्र नै चुस्त र सक्रिय छ । त्यही कारण हामी अखाद्य पदार्थ समेत उपभोग गर्न बाध्य छौं ।

हामीले खाने चाउचाउ बनाउने प्रक्रिया र त्यसमा प्रयोग भएका सामग्रीहरुको बारेमा सरकारी निकायको तर्फबाट अनुगमन गर्ने जिम्मा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने चाउचाउको ल्याब परीक्षण गरेर त्यहाँ उल्लेख भएको सबै तत्वहरुको प्रयोग गरेको छ कि छैन भनेर हेर्ने नगरेको स्वीकारे ।

महर्जन चाउचाउमा तोकिएका तत्वहरु प्रयोग गरेको खण्डमा चाउचाउ सधैं हानिकारक मात्रै नहुने बताउँछन् । यद्यपि त्यसमा प्रयोग गरिएको सामग्री त्यसको प्रयोगको समय आदिको आधारमा पनि यो कत्तिको हानिकारक छ ? भन्ने यकीन गर्न सकिने उनको बुझाई छ । उनले विशेषगरी चाउचाउमा प्रोटिन, क्याल्सियम र फाइबरको मात्रालाई ध्यान दिनुपर्ने बताए । उनले बच्चामा आइरनको कमीले सिक्ने तथा अघि बढ्ने क्षमतामा कमी आउँने भएकोले चाउचाउमा आइरनको मात्रा पनि कति छ ? भन्नेबारे ध्यान दिनु पर्ने पनि बताए ।

Related Articles

Close